दफा २१
गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने

(१) कानून बमोजिम बाहेक कसैले सम्बन्धित व्यक्तिको मञ्जुरी नलिई देहायका कुनै काम कुरा गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिनेछ :–
(क) कुनै व्यक्तिको बासस्थानमा प्रवेश गरेमा,
(ख) कसैको चिठ्ठीपत्र खोलेमा वा त्यसको प्रयोग गरेमा, टेलिफोन वा अन्य प्रविधिको माध्यमबाट भएको कुराकानी, बोली, ध्वनिको टेप वा रेकर्ड गरेमा वा सुनेमा,
(ग) कुनै व्यक्तिको निजी जीवनको व्यवहार, आचरणको चियो चर्चा, प्रकाशन, प्रशारण वा प्रचार गरेमा,
(घ) कसैको आकृति वा तस्वीर खिचेमा,
(ङ) अरूको नाम, आकृति, तस्वीर वा आवाजको नक्कल गरी सार्वजनिक गरेमा ।
(२) उपदफा (१) को खण्ड (घ) वा (ङ) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले साहित्यिक वा कलात्मक प्रयोजन वा सार्वजनिक हितको लागि तीे खण्डहरूमा लेखिएको कुनै काम गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने छैन ।